वारेन्ट जारी भएको ११ औं दिनमा समातिए रायमाझी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुर रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।

प्रहरी अधिकारीका अनुसार एमाले सचिव तथा पूर्वऊर्जामन्त्रीसमेत रहेका सांसद रायमाझीलाई आइतबार साँझ पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। ‘रायमाझी शनिबार नै काठमाडौं आएको सूचना पाएका थियौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘आइतबार साँझ पक्राउ गरेका हौं।’ उनी पक्राउ पुर्जी जारी भएको ११औं दिनमा प्रहरीको नियन्त्रणमा परेका हुन्।

रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ। जिल्ला अदालत काठमाडौंले रायमाझी पक्राउ गर्न गत वैशाख २० मा पक्राउ पुर्जी जारी गरेको थियो। सो दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि त्यहीबाट फरार भएका थिए। प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरेको थियो। यही प्रकरणमा अनुसन्धानका लागि सन्दीप पनि पक्राउ परेका हुन्। यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा छापा मारेको थियो।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा उनी अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हीरक महोत्सवमा विशेष अतिथिका रूपमा सहभागी भइरहेका थिए। उनी त्यसै रात ९ बजे भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए। तर, अन्तिम समयमा आएर उनले टिकट रद्द गरी त्यतैबाट फरार भएको प्रहरी अधिकारी बताउँछन्। पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर आफैं उपस्थित हुने भन्दै पक्राउ नगर्न अनुरोध गरेका थिए। तर, उनी प्रहरी सम्पर्कमा आएर अनुसन्धानमा नसघाएको भन्दै एमालेले उनलाई निलम्बनसमेत गरेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा चैत १२ मा यो प्रकरणमा संलग्नमध्येका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए। दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए। उनीहरूको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक यो गिरोहका सदस्यले काटेको पाइएको प्रहरी स्रोतको दाबी छ।

पक्राउ परेकालाई म्याद थप

यसै प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भने यो घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा केही भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफू संलग्न नभएको प्रतिक्रिया दिएका थिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले वैशाख २७ गते पक्राउ गरेको थियो। खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन्। प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत अभियुक्तलाई पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। उनीहरूलाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ। अन्नपूर्णपोष्टबाट