बजेट घट्दा कारागारमा औषधि अभाव

काठमाडौं । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।

कारागारमा हाल ४९ महिला चार नाबालकरनाबालिकासहित ७ सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये २ सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।

यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ । उनका अनुसार कारागार विभागले चालू आर्थिक वर्षका लागि १२ लाख रुपैयाँ मात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष २५ लाख रुपैयाँ पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष ४८ लाख रुपैयाँ पठाएको जनाउँदै उनले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताए ।

औषधिको चरम अभाव भएपछि १५ लाख रुपैयाँ माग गरेकामा १ लाख रुपैयाँ मात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिए । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ ।

दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । ‘किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ,’ आचार्यले भने । नियमित औषधिसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उनले बताए ।

कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैंले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । कारागार प्रमुख आचार्यले भने, ‘७० प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।’

रासस