१० वटा संसदीय समितिका बैठक शुरु

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक शुरु भएको छ । सबै समितिहरुको बैठक मंगलबार बिहान ९ बजेबाट शुरु भएको हो ।

गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म संसदीय समितिहरु काम बिहिन भएका थिए। अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन ।

सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश दिन मंगलबार प्रतिनिधि सभाका १० वटै समितिका बैठक राख्न भनेका थिए । सोही अनुसार आज समितिका ज्येष्ठ सदस्यहरुको अध्यक्षतामा संसदीय समितिहरुको बैठक बसेको छ ।

प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समिति, अर्थ, कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका छन् ।

समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, आपसमा परिचय गर्ने र समितिको कार्यक्षेत्रबारे जानकारी गराइएको छ ।