टोपबहादुरको बयान सकियो, खाणको आज पनि

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीको बयान सोमबार अदालतबाट म्याद लिएकै दिन सकिएको छ ।

अपरान्ह काठमाडौं जिल्ला अदालतबाट ३ दिनको लागि म्याद थप भएका टोपबहादुरलाई लगत्तै बयानका लागि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो ।

सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले अबेरसम्म लगाएर बयान लिइएको र सकिएको जानकारी दिए ।

‘हामीले अबेरसम्म लगाएर टोपबहादुरजीको बयान लिएर सक्यौँ पनि’, उनले भने, ‘४ बजे सुरू भएर साढे ९ बजे सकिएको हो ।’

टोपबहादुरलाई आइतबार साँझ बूढानीलकण्ठस्थित आफन्तको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पुर्जी जारी भएको ११औँ दिनमा उनी प्रहरीको फन्दामा परेका हुन् । टोपबहादुरका छोरा सन्दीप पनि हिरासतमा रहेका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाणको भने मंगलबार पनि बयान भइरहेको छ । यसअघि पनि खाणको बयान लिइएको थियो ।