मिलेमतोमा इन्टरनेटको शुल्क नबढाउन निर्देशन

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले बढ्दो महँगी, बैंकिङ तरलतालगायत विभिन्न कारण देखाएर ग्राहकसँग लिने महशुल दर आपसी मिलेमतोमा बढाउन खोजेपछि नियामक दूरसञ्चार प्राधिकरणले नबढाउन निर्देशन दिएको छ ।

ग्राहकसँग बढी शुल्क नअशुल्न इन्टरनेट सेवा ग्राहकलाई प्राधिकरणले निर्देशन दिएको हो। सेवा ग्राहाकहरुले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क र महसुल दर बढाउनु दूरसञ्चार ऐन, २०५३ र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरित हुने प्राधिकरणले जनाएको छ ।

इन्टरनेटको शुल्क बढाउन सेवा प्रदायकहरू आपसमा भद्र सहमति गरेको विषयमा यसै साता कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको थियो । केही सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महशुल दर बढाएको भनी उपभोक्त्ताहरूले समेत गुनासो गर्न थालेको विषयमा प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सबैभन्दा सस्तोमा इन्टरनेट दिने भन्नेमा एक–अर्कासँग प्राइस वार (मूल्यमा प्रतिस्पर्धा) गरेका सेवा प्रदायकहरूले नियामक प्राधिकरणसँग महशुल दर स्वीकृत नगराई ग्राहकसँग लिने शुल्क हेरफेर गरेका थिए । यस विषयमा प्राधिकरणले फागुनमा मात्रै ८ सेवा प्रदायकलाई कारबाही गरेको थियो । ‘स्वीकृत महशुल दरभन्दा बढी शुल्क लिने गरी बिल र बिजक जारी गरिएको पाइएमा नियामकलाई जानकारी गराउन प्राधिकरणले उपभोक्तालाई अनुरोध गरेको छ ।