गृहसचिव भट्टराईबाट नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन

काठमाडौँ । गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गरि उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गरको छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले गृहसचिव दिनेश भट्टराईलाई हार्दिक स्वागत गरेका थियो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव भट्टराईले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्ने बताए ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गृहसचिव भट्टराईले भने, ‘मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गरी राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा म विश्वस्त छु ।’ प्रहरीले नागरिक समक्ष गर्ने कार्यव्यवहारबाट सरकारको छवि उजागर हुने उल्लेख गर्दै उनले प्रहरी प्रशासनले गरिब, निमुखा, शोषित पीडित, कमजोर एवं पहुँचबिहिन नागरिकको सारथी बनी उजुरी, गुनासो तथा समस्यालाई सम्बोधन गर्न अग्रसरता एवम् थप क्रियाशिलता हुनुपर्नेमा जोड दिए ।

गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गर्दै नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए । प्रहरी संगठन आफैमा अनुशासनको पर्याय भएको उल्लेख गर्दै गृहसचिव भट्टराईले भने, ‘कुनै पनि सुरक्षाकर्मीलाई पेशागत आचरण विपरीत काम गर्न छुट छैन । तसर्थ सदाचारलाई मूलमन्त्र मानेर आदेशको श्रृङ्खला अनुरूप कार्य गर्न सकल दर्जालाई म निर्देशन गर्न चाहान्छु ।’

महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति थप चनाखो एवं संवेदनशील हुन उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै सार्वजनिक सम्पत्तिको तोडफोड लगायत अवाञ्छित, अराजक र उच्छृङ्खल गतिविधिलाई निरूत्साहित गर्दै अनुसन्धान र तहकीकातका माध्यमबाट संलग्नलाई कानूनी दायरामा ल्याउन समेत निर्देशन दिए ।

अपराध रोकथाम एवं घटित अपराधको प्रभावकारी अनुसन्धान, सामाजिक विकृतिको नियन्त्रण र सेवा प्रवाहमा जनअपेक्षा अनुरूपको कार्य सम्पादनको लागि सुदृढ प्रहरी संयन्त्र आजको आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नागरिक सुरक्षाको प्राथमिक दायित्व बोकेको नेपाल प्रहरीलाई सुदृढ कार्य सम्पादनको लागि उपयुक्त रणनीतिसहित प्रविधि एवं साधनयुक्त बनाउन नेपाल सरकार र तालुक मन्त्रालयबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

निर्देशन सम्बोधन कार्यक्रम अघि नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव दिनेश भट्टराई समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवद्वय केदारनाथ शर्मा र जितेन्द्र बस्नेत, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् भर्चुअल रूपमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।