कान्साको जलवायु सम्बन्धी तीन वर्षे रणनीति तयार

नेपालमा जलवायु तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधीहरूले जलवायु परिवर्तन हुँदा पर्ने असरहरूलाई मध्यनजर गर्दै तीनवर्षे रणनीति तथा सो रणनीति कार्यान्वयन गर्नका लागि रणनीतिक सञ्चालन योजना पनि तयार पारेका छन् ।

जलवायु परिवर्तनका कारण त्यसबाट हुने असरहरूबाट बच्नका लागि नेपालमा आ–आफ्नो क्षेत्रबाट के कस्ता कामहरू गर्न सकिन्छ भन्ने योजना सहितको सो रणनीति क्लाइमेट एक्सन नेटवर्क साउथ एशिया (कान्सा) को अगुवाईमा तयार पारिएको हो । कान्साले राजधानीमा एक कार्यक्रमको आयोजना गरि कान्साको राष्ट्रिय तदर्थ समितिको सन् २०२३ देखि २०२५ सम्मको सो रणनीति नेपालका आफ्ना सदस्य संस्थाहरू बिच सार्वजनिक गर्दै नेपाल यो तीन वर्ष भित्रमा के कसरी काम गर्न सकिन्छ भनेर जानकारी दिएको थियो ।

कार्यक्रममा प्रज्ञा सिड्स नेपालका अध्यक्ष तथा कान्साको राष्ट्रिय तदर्थ समिति (२०२२–२०२५) का प्रमुख प्रणय श्रेष्ठले एक प्रश्तुतीकरण गर्नु हुँदै कान्साको यस तीन वर्षको नेपालका लागि मुख्य तीन वटा रणनीतिक योजनाहरू रहेको बताउँनु भयो । जसमा सञ्जालको सवलिकरण तथा क्षमता अभिवृद्धि, पैरवी तथा नितिमा प्रभाव र जलवायु सम्बन्धी ज्ञानपुस्ता तयार र सो को व्यवस्थापन गर्ने रहेका छन् ।

कार्यक्रममा उपस्थित सहभागिहरूले नेपाल जलवायु परिवर्तनका कारण पर्ने असरहरूबाट सधै नै उच्च जोखिममा रहेकाले जलवायु परिवर्तनका विषयमा सबैलाई संवेदनशिल हुन आग्रह गर्दै यसबाट पर्न सक्ने खतराहरूबाट सबैलाई असर पर्ने र त्यसमा पनि बालबालिका, अपाङ्गता भएका व्यक्ति, महिला, गर्भवती, जेष्ठ नागरिक लगायतका संकटासन्न समुहहरू अझ वढि जोखिममा पर्ने हुनाले उनीहरू सबैलाई त्यस्ता विपत्तहरूबाट जोगाउनका लागि नागरिक समाजका सबै संघसंस्थाहरू एकजुट भएर हातेमालो गर्दै अगाडी वढनु पर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा कान्साका नेपाल स्थित सदस्य संस्थाहरू मध्ये प्रज्ञा सिड्स नेपाल, क्लिन इनर्जी नेपाल, मर्सीकोर, नेपाल वाटर कन्जरभेसन फाउण्डेशन, कर्णाली इन्ट्रिग्रेटेड रूलर डेभलेपमेन्ट एण्ड रिसर्च सेन्टर, प्राक्टिकल एक्सन, रिसोर्स हिमालय फाउण्डेसन, प्रकृति स्रोत केन्द्र, ग्रामिण प्रविधि केन्द्र नेपाल, सामाजिक र वातावरणिय परिवर्तन अध्ययन संस्था नेपाल र सिबिएम ग्लोबल नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यस कार्यक्रमलाई एकवद्धता जनाउँनका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव यमनाथ पोख्रेलको सहभागिता रहेको थियो । यसैगरी कार्यक्रममा कान्साका सचिवालयका कार्यक्रम व्यवस्थापक रूचि चौधरीको समेत उपस्थिती रहेको थियो र सचिवालय निर्देशक सञ्जय वशिष्टले अनलाइन मार्फत सहभागिता जनाउनु भएको थियो ।

कान्सा दक्षिण एशियाका आठ वटा राष्ट्रहरूका ३०० वटा भन्दा वढि नागरिक समाजका संघसंस्थाहरूको सदस्यता रहेको जलवायु सम्बन्धी काम गर्ने एक ठूलो सञ्जाल हो । कान्साको राष्ट्रिय तदर्थ समिति नेपालमा जलवायु सम्बन्धी काम गर्ने विज्ञहरूको अगुवाईमा सन् २०१० मा स्थापना भएको हो । जसमा २६ वटा संघसंस्थाहरूको आवद्धता रहेको छ ।