पाकिस्तानमा आर्थिक सङ्कट गहिरिदै

काठमाडौँ । पाकिस्तानमा आर्थिक सङ्कट गहिरिदै गएको छ । सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।

कूटनीतिक कर्मचारीले २ महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौ धौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले जनाएको छ ।

अर्थ मन्त्रालयले गत डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि मार्च महिनाको तलब प्राप्त नभएको कूटनीतिक नियोगका कर्मचारीले बताएका छन् । पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको छ । विदेश मन्त्रालयले आफ्नो बजेटबाट कूटनीतिक कर्मचारीलाई जनवरी र फेब्रुअरीको तलब हस्तान्तरण गरेको थियो ।

विदेश मन्त्रालयले मातहतका निकाय र विभागमार्फत विदेशमा कार्यरत आफ्ना कर्मचारीका लागि रकम विनियोजन गरी प्र्रत्येक महिनाको एक वा दुई तारिखमा कर्मचारीको खातामा रकम दाखिला गर्दै आएको थियो । अर्थसचिवसँग यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा त्यो सफल हुन सकेन ।