क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए म आफैँ जेल जान्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही भएको दाबी गरेका छन् ।

यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको उनले घोषणा गरे । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।

राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप उनले लगाए । भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले समेत रुजु गरेको थिए ।

उनले अघि भने, ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’ उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए ।

ुपूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो, प्रधानमन्त्री दाहालले भने, यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक–पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु ।