पोखरा विमानस्थल बनाउँदा लागेको खर्च विवरण माग

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएको सम्झौताको प्रतिलिपि माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दर्ता भएको छ । निवेदन राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले दर्ता गरेका हुन् ।

यादवले विमानस्थल निर्माणअघि भएको सम्झौताको विवरण मागेका हुन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम हिजो निवेदन दर्ता गराएका उनले सम्झौता हुँदाको बखत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुमानित लागतको हिसाब दिन भनेका छन् ।

त्यस्तै, सम्झौतापश्चात भएका अनुमानित लागत वृद्धि, परियोजनाको लगानीको स्रोत र अन्तिम कुल लागतबारे समेत जानकारी गराउन यादवले माग गरेका छन् ।

दर्ता नम्बर ४५८४ भएको निवेदनमार्फत निवेदकले सोधेका छन्,‘सम्झौतापश्चात कुन/कुन मितिमा कति/कति, कुन/कुन कारण, कुन प्रक्रियाले अनुमानित लागत वृद्धि भएको हो रु परियोजनामा कुन कुन स्रोतबाट लगानी भएको हो र परियोजनाको अन्तिम कुल लागत कति हो र?’