७ वर्षपछि अपहरणमुक्त भए चिकित्सक

काठमाडौं । ७ वर्षअघि पश्चिम अफ्रिकामा अपहरणमा परेका एक अस्ट्रेलियन चिकित्सक अपहरणकारीको बन्धनबाट मुक्त भएका छन् ।

पश्चिम अफ्रिकाको अतिवादी समूहले केन एलियटलाई अपहरण गरेको थियो । अन्ततः उनी ७ वर्षभन्दा लामो समयपछि अपहरणकारीको बन्धनबाट मुक्त हुन सफल भएका छन् । अपहरणकारीले मुक्त गरेपछि उनी आफ्नो देश अस्ट्रेलिया फर्किएका छन् । उनको परिवार अस्ट्रेलियाको पर्थमा बस्छ ।

उनी अहिले स्वास्थ्य र सुरक्षित छन् । उनी बिहीबार राति अस्ट्रेलिया फर्किएका छन् र आफ्ना परिवारका सदस्यहरुसँग भेट गरेका छन्,’ अस्ट्रेलियाका परराष्ट्रमन्त्री पेन्नी वङले भनेकी छन् । केन एलियट अपहरणकारीबाट मुक्त भएर अस्ट्रेलिया फर्किएपछि आफू निकै खुसी भएको पनि परराष्ट्रमन्त्रीले सञ्चारकर्मीलाई बताएकी छन् । केन एलियट र उनकी श्रीमती जोसेलिन एलियट अफ्रिकी राष्ट्र बुर्किना फासोमा अपहरणमा परेका थिए ।

अपहरणमा परेको ३ सातापछि अपहरणकारीले केन एलियटकी श्रीमती जोसेलिनलाई अपहरणमुक्त गरेका थिए । ‘हामी भगवान र हाम्रा लागि प्रार्थना गर्ने सबैप्रति आभारी छौं,’ अपहरणबाट मुक्त भएर अस्ट्रेलिया फर्किएपछि एलियट परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एलियट परिवारको उक्त विज्ञप्ति पनि परराष्ट्र मन्त्रालयमार्फत जारी गरिएको थियो । ‘डा. एलियटलाई अपहरणबाट मुक्त गराउन निरन्तर प्रयास गर्ने अस्ट्रेलियन सरकार र अन्य महानुभावलाई पनि हामी धन्यबाद दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

पराराष्ट्र मन्त्रालयले केन एलियट कसरी मुक्त भए भन्ने विषयमा भने केही जनाएको छैन । ‘डा. एलियट लामो समय अपहरणकारीको बन्धनमा रहनु भयो । उहाँको उमेर पनि ८८ वर्ष पुगिसकेको छ । त्यसैले अहिले उहाँलाई आरामको आवश्यक्ता छ,’ परिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डा. एलियटले बुर्किना फासोमा ४ दशकदेखि नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थिए । स्वास्थ्य शिविर सञ्चालनकै क्रममा बुर्किना फासोमा रहँदा उनी सन् २०१६ को जनवरी १५ तारिखमा अपहरणमा परेका थिए । डा.एलियट र उनकी श्रीमतीलाई अपहरण गर्नुअघि भएको हमलामा ३० जनाले ज्यान गुमाएका थिए । केही समयपछि उक्त आक्रमणको जिम्मा अल काइदाको उत्तर अफ्रिकी विंगले लिएको थियो ।