नागरिकलाई सास्ती हुने गरी संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्नू : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन्। राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर आउँदा यस्तो व्यवस्था नगर्न निर्देशन दिएका हुन् ।

नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने निर्देशन भइसकेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरले जानकारी दिए।

उनले भने, ‘उहाँबाट स्टिक्ली निर्देशन भइसकेको छ। पहिले झैं आज राष्ट्रपतिज्यू संसद जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन।’

सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेकाले संसद भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने उनको भनाइ छ। यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिएको थियो। तर, चौतर्फि विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए।