काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउन खोजिएको र निर्दोषलाई फसाउने प्रयास भइरहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यो प्रकरणमा दोषीलाई उम्काउन खोजिएको भन्दै आशंका व्यक्त गरे।
उनले भने, ‘दोषीलाई उम्काउने कोशिस भइरहेको छ। निर्दोषलाई फसाउने प्रयास भइरहेको छ। यो कुरा बन्द गरियोस्। दोषीमाथि कारबाही दृढताका साथ अघि बढाइयोस्।’
उनले घटनाको अनुसन्धानमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए। राजतीनिक अभिष्ट साध्नका लागि निर्दोषलाई फसाउने काम अपराध भएको बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा अझैं आगो बल्ने उनको भनाइ छ । ओलीले भने,’आगो लागेपछि छोप्न सकिन्छ तर धूँवा छोप्न सकिदैन।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यसअघि जेठ २९ मा परेको निवेदनमा पक्राउ परेकाहरूलाई किन छोडियो ? भन्दै प्रश्न गरे। उनले भने, ‘पुलिसले छोडेको होइन। छोड्न बाध्य बनाइयो। ढाकछोप गर्ने दुष्साहस नगरियोस्।’
ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफैं बाहिर आएको बताए। ‘गएको जेठमा नै कारबाहीको उजुरी परेको भन्दै किन गुपचुप राखिएको ?’ओलीले प्रश्न गर्दै भने, ‘भुटानी शरणार्थी प्रकरण आफैं विस्फोट भएर आयो, भुइँचालो आफैं आयो,यो रोक्न सकिदैनथ्यो,छेक्न सकिदैनथ्यो।’
Add Comment