गृहमन्त्री श्रेष्ठ भन्छन् : भ्रष्टाचारीले आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने अवस्था बनाइनेछ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी, कमिसनखोर, तस्कर, कालोबजारीयाहरूले आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने अवस्था बनाइने बताएका छन् ।

गोरखा सदरमुकाममा आज आइतवार आयोजित एक साधारण सभामा श्रेष्ठले देश भ्रष्टाचारको जालोमा जेलिएको बताउदै नक्कली भुटानी शरणार्थी प्रकरणमा विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्षरूपमा काम गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताए ।

देश सम्भावनायुक्त रहेको भन्दै गृहमन्त्रीले खाडीलगायतका देशमा रहेका लाखौँ युवालाई देश फर्काउन सरकारले पहल गरिरहेको उनले बताए ।

उनले भने, ‘त्यसको वातावरण निर्माण गर्नका लागि बाधक के हो र? देश भ्रष्टाचारको जालोमा छ, त्यो जालो हटाएमात्रै ती युवालाई स्वदेशमा फर्काउन सकिन्छ ।’

गृहमन्त्री श्रेष्ठले संविधानको कार्यान्वयनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग गठनलाई पूर्णता दिने पनि जानकारी दिए । भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको सामाजिक आर्थिक रूपान्तरण, सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा अपूर्ण हुने उनले बताए । नागरिकको जीवनमा गुणात्मक परिवर्तन हुने गरी सरकारले काम गर्न नसकेको पनि श्रेष्ठले बताए ।