बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरण : मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं ।  बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणका अभियुक्त पृथ्वी मल्ललाई उच्च अदालत पाटनले लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको छ।

आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई उक्त कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।

मादकपदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएका कारण गोरखाकी लीला देवकोटाको ज्यान गएको भन्दै सरकारी वकिलले उनलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुनुपर्ने सरकारी वकिलको दाबी थियो।

जिल्ला अदालत काठमाडौंले सामान्य दुर्घटना मान्दै ६ महिना कैद र १ हजार जरिवाना हुने गरि भएको फैसला उल्ट्याएर उच्च अदालतले लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गरेको निष्कर्ष निकालेको थियो।

जिल्लाको फैसला फैसलाविरूद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दिएको थियो। सोही पुनरावेदनमा आज कसुर कायम गरिएको हो।

सुरूमा मल्ललाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएको थियो। तर सात महिना थुनामा बसेका मल्ललाई सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान सहितको इजलासले धरौटीमा छोडेको थियो।

२०७६ मंसिर २७ गते बिहान १० बजेतिर मल्लले चलाएको कारले ठक्कर दिएर विपरीत दिशाको सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो।

त्यसपछि प्रहरीले मल्ललाई पक्राउ गरी प्रहरीले सवारी ज्यान मुद्दामा अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानमै मल्लले मादक पदार्थ सेवन गरेर कार चलाएको खुलेको थियो।

उनले आफ्नो बयानमा रातभरि रक्सी खाएको र बिहान गाडी चलाउँदा निद्रा लागेकाले दुर्घटना भएको बताएका थिए। चिरायु अस्पतालको स्वास्थ्य रिपोर्टमा समेत मल्लले मादक पदार्थ सेवन गरेको उल्लेख थियो।

प्रहरीले आफ्नो प्रतिवेदनमै मल्लले ‘मादकपदार्थ सेवन गरी लापरबाही तरिकाले चलाएको कारले देवकोटालाई ठक्कर दिएको’ उल्लेख गरेको थियो।

यी सबै प्रमाण मूल्यांकन गरेर सरकारी वकिल कार्यालयले मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएकाले देवकोटाको ज्यान गएको भन्दै ३ देखि १० वर्षसम्म कैद हुनुपर्ने माग गरेको थियो।