‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

फाईल तस्बिर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । लिगको दोस्रो लेगको सातौं चरणअन्तर्गत आज दुई खेल हुन लागेका हुन् ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन् । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी आज सातौं जितको खोजीमा छ । १९ खेलमा २६ अंक जोडेको आर्मी छैटौँ स्थानमा छ ।

छैटौँ जितको खोजीमा रहेको फ्रेन्ड्स १९ खेलमा २१ अंकसहित १३ औँ स्थानमा छ । ऊ आज आर्मीलाई हराउँदै रेलिगेसन जोन छोड्न चाहन्छ । यस्तै, च्यासल मैदानमा हुने अर्को खेलमा शिमालयन शेर्पाले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

दुई टोलीबीचको खेल पनि दिउँसो ३ बजे सुरु हुनेछ । ११ औँ जितको खोजीमा रहेको चर्च ब्वाइज दोस्रो स्थानको मछिन्द्रसँग थप अंक दूरी बढाउन चाहन्छ ।

चर्च ब्वाइज अहिले १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मछिन्द्रले २० खेलबाट ३४ अंक जोडेको छ ।

हिमालयन सातौं जित निकाल्ने योजनामा छ । १९ खेलमा २५ अंक जोडेको हिमालयन सातौं स्थानमा रहेको छ ।