लाखौं रुपैयाँ मूल्यको सामान सहित भन्सार छल्न खोजेको ट्रक नियन्त्रणमा

काठमाडौं । नक्कली र किर्ते कागजातको आधारमा भन्सार छल्न खोजेको लाखौं रुपैयाँ मूल्यको सामान सहितको एउटा भारतीय ट्रकलाई भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिइ छानबिन सुरु गरेको छ ।

यस घटनामा भन्सार कार्यालयले ११ जना व्यक्तिलाई नियन्त्रणमा लिइ कारबाहीका लागि सोधपुछ र अनुसन्धान थालेको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार, करिब १३ लाख रुपैयाँ मूल्य पर्ने ३ क्विन्टल ८ सय ग्राम माछासहित भैरहवा भन्सार कार्यालय परिसरबाट बाहिर निस्किन लागेको अवस्थामा युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय मिनी ट्रकलाई शनिबार बेलुका नियन्त्रणमा लिइएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भन्सार जाँचपास गर्नका लागि अपनाउनु पर्ने कागजात सहित सबै प्रक्रिया नक्कली र किर्ते गरी राजश्व छलेर बाहिर निस्किन लागेको अवस्थामा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको र यस घटनामा संलग्न तथा शंकास्पद व्यक्ति तथा कर्मचारीलाई आइतबार नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताए ।

‘भन्सार प्रज्ञापनपत्र सहितका सबै कागजात नक्कली र भन्सार अधिकृत र जाँचकी समेतको हस्ताक्षर किर्ते गरेर चोरी पैठारी गर्न लागेको पाइयो,’ पौडेलले भने, ‘भन्सार यार्डबाट उक्त ट्रक बाहिर निकाल्न खोज्ने क्रममा शंका लागि जाँच गर्दा नक्कली कागजात र किर्ते हस्ताक्षर गरेको पाइयो ।’

उक्त मिनी ट्रकसहित तत्कालै गाडीका चालक र सहचालक पक्राउ परेका थिए । आइतबार उक्त सामानको आयातकर्ता, निर्यातकर्ता, कागजात किर्ते र नक्कली गर्ने व्यक्ति, भन्सार ऐजेन्टको प्रतिनिधि, भन्सार परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी र भन्सारको पार्किङ व्यवस्थापनको जिम्मा लिएको कम्पनीका कर्मचारी गरी कुल ११ जनामाथि सोधपुछ र छानबिन थालिएको छ ।