दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

काठमाडौ । आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ ।

विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कने क्रममा बाहुनीडाँडाकै झापाबाट कुर्लेघाटतर्फ जाँदै गरेको को २ त ४६७६ नं को ट्र्याक्टरमा चढेको उनको रुपसे भन्ने ठाउँमा ट्र्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रधानाध्यापक राई विद्यालय बिदा भएपछि सुङ्गुरको चारो लिन सोही ट्र्याक्टरमा चढेर कुर्लेघाट भनेका थिए । कुर्लेघाटबाट चालकछेउमा बसेर फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्र्याक्टरबाट खसेका उनको टाउकोमा पछाडिको पाङ्ग्राले किच्दा घटनास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

उनको शव परीक्षणका लागि आज जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला आफन्तले बताए । सो घटना पछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

प्रधानाध्यापक राईको निधन भएपछि विद्यालयको पठनपाठन रोकिएको स्थानीय बासिन्दाले बताए । विद्यालय व्यवस्थापन समितिले भने शोक वक्तव्य जारी गरेर पठनपाठनलाई निरन्ता दिने तयारी गरिएको जनाएको छ ।