२ वटा सहकारीका अध्यक्ष रहेका मेयर २ अर्ब हिनामिना गरी फरार

काटमाडौं । सर्वसाधारणले दुख,सुख गरेर जम्मा गरेको रकम अहिले कहाँ राख्दा सुरक्षित हुन्छ भन्न नै नसकिने अवस्था सिर्जना हुन थालेको छ ।

सर्वसाधारणहरु सहकारी होस् वा बैंक जुनसुकै कम्पनिमा आफ्नो धन सुरक्षित नहुने हो कि भन्ने चिन्ता गर्न थालेका छन् । सर्वसाधारण जनतामा यस्तै चिन्ता बढिरहेकै बेलामा ढोरपाटन नगरपालिकाका फेरि त्यस्तै घटना घटेको छ ।  ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले २ वटा सहकारी संचालन गरेको र सहकारीबाट सर्वसाधारणको रकम अपचलन गरेर फरार भएको पाईएको छ ।

पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ।

सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्।

सोही पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै नाका र अध्यागमन विभागमा पत्राचार गरिसकेको छ।

उनले सहकारीबाट बागलुङमा मात्र डेढ अर्ब बचत अपचलन देखिएको सिडिओ श्रेष्ठले बताइन्।

नेपालीले दुई संस्थाको गरी नेपालीले २ अर्ब अपचलन गरेको उनीहरूले बताएका छन्।

अध्यक्ष नेपालीले बागलुङकै संगीता थापा मगरलाई अपरेशन हेड बनाएका थिए। ऋण अधिकृत उनकै भतिज सुनिल नेपालीलाई नियुक्त गरेका थिए। मगर र नेपाली पनि सम्पर्कविहिन छन्।

‘विश्वासको आधारमा काम गरें, अहिले आएर सम्पर्कविहीन भए,’सहकारीका प्रबन्धक दीपक पौडेलले  भने, ‘मलाई त रबर स्ट्याम्प हिसाबमा काम लगाए।’

मेयर नेपालीले बागलुङमा पनि इमेज बचत तथा ऋण सहकारी संस्था संचालन गर्न तत्कालीन रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका थिए।बागलुङमा संचालन गरेको सहकारीको मुख्य कार्यालय बागलुङ बजार रहेको छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र संचालनमा छ।

सहकारी ऐन अनुसार एउटा पालिकाभन्दा बाहिर पनि कार्यक्षेत्र बनाउन रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नुपर्छ। एउटा प्रदेश भन्दा बाहिर कार्यक्षेत्र बनाउन संघीय सरकारको सहकारी विभागमा दर्ता गर्नुपर्ने सहकारी ऐनमा व्यवस्था छ।

सहकारी ऐनले तोकेको सोही व्यवस्था अनुसार मेयर नेपालीले पोखरा र बागलुङमा एउटै नामका २ छुट्टा छुट्टै सहकारी दर्ता गरेका हुन्। तर सोही ऐनले एउटै व्यक्ति २ वटा सहकारीको संचालक हुन नपाउने व्यवस्था गरेको छ। तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्।

सहकारी विनियमले जनप्रतिनिधीलाई संचालक बन्न नपाउने व्यवस्था गरेकोल पोखरा महानगरका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले बताए।

‘एकै व्यक्ति दुई सहकारीको अध्यक्ष बन्न मिल्दैन, जनप्रतिनिधी त एउटै सहकारीको पनि संचालक हुन पनि पाउँदैनन्,’ उनले भने।

‘सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर बेपत्ता भएको सूचना हामीले पाएपछि हामीले जिल्ला प्रशासन कार्यालयलाई नियन्त्रणमा लिएर कारबाही गर्न पत्राचार गरेका छौं,’ उनले भने।

सहकारीमा रकम बचत गरेका सर्वसाधारणले मेयर नेपालीलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रशासनले चासो नदिएको गुनासो गरेका छन्। पोखरा र बागलुङका सर्वसाधारण दिनहुँ प्रहरी र प्रशासनमा धाइरहेका छन्। एउटा कार्यालयले अर्को कार्यालयलाई देखाएर तर्किने गरेको पोखराका पीडित हरि खत्रीले बताए।

‘इमेज सहकारीका अध्यक्षलाई नियन्त्रणमा ल्याइदिनुस् भनेर जी हजुरी गरेका छौं,’ उनले भने, ‘महानगरमा गयो हामीलाई अधिकार छैन भन्छ, सिडिओ कार्यालय गयो महानगरलाई भन्नुपर्छ भन्छ, प्रहरीमा गयो सबै अधिकार महानगरमा गएको छ भन्छ, हामी यता र उता धाउँदा धाउँदा हैरान भयौं।’

बागलुङबाट पोखरा बसाई आएका खत्रीलाई बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीमा बचत जम्मा गर्न उनका साथीहरुले सुझाएका थिए। साथीका सुझाव मानेर खत्रीले आफ्नो मात्र नभई आफन्तका पनि बचत लगेर सोही सहकारीमा जम्मा गरेका थिए।

‘साथीहरको सुझाव मानेर मैले आफ्नो,दिदी, छोराछोरी लगायत आफन्तको बचत पनि यही सहकारीमा राखें,’ उनले भने, ‘हाम्रो परिवारभित्रको मात्र १ करोड बचत छ।’

सहकारीमा उनले बचत गरेको रकम अहिले कागजको ढड्डामा मात्र उल्लेख छ। उनले राखेको पैसा सहकारीमा छैन। आफूले बचत गरेको रकम निकाल्न खोज्दा पनि सहकारीले नदिएको उनले बताए।

‘हामीले राखेको पैसा आवश्यक पर्दा झिक्न जाँदा दिएन, अध्यक्षसँग कुरा गर्दा मिलाउँछु मात्र भन्थे,’ उनले भने, ‘५ दिनअघि मात्र सम्पर्क हुँदा पनि मिलाउँछु भनेका थिए।’

पोखराका सहकारी पीडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा ठगीको उजुरी दिँदा दर्ता नभएको गुनासो गरेका छन्।

बागलुङमा डेढ अर्ब र सहकारीका पोखरामा ५० करोड गरी २ अर्ब रुपैया अध्यक्ष नेपालीले अवचलन गरेर फरार भएको बचतकर्ताको दाबी छ।

सर्वसाधारणले बचत गरेको रकम सहकारीका अध्यक्ष नेपाली आँफैले ऋण लिएर लगानी गरेको पोखराका प्रवन्धक दीपक पौडेलले बताए। यस्तै, काठमाडौं, पोखरा र बागलुङमा प्लटिङमा लगानी गरेका छन्। उनको पोखरामा २ वटा घर छ भने बागलुङको बुर्तिवाङमा होटल चलाएका छन्। करिब ४ महिनाअघि देखि सहकारीका बचतकर्ताले रकम नपाएपछि गुनासो बढ्दै गएको थियो । अध्यक्ष नेपालीले  घर जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने आश्वासन दिँदै आएका थिए। एकाएक सम्पर्कविहिन भएपछि आफुहरुको रकम डुब्ने हो की भन्ने चिन्ता लागेको बचतकर्ता हरि खत्रीले बताए।

सर्वसाधारण बचतकर्ताको करोडौं रकम डुब्ने अवस्था आउनुमा राज्यका नियमनकारी निकाय पनि उत्तिकै जिम्मेवार भएको अर्का एक पीडितले बताए।

जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार भेटिएका ती पीडितले आफ्ना नाम गोप्य राख्न आग्रह गर्दै भने, ‘मेयरको सहकारी राम्रो होला भनेका थियौं, आखिर गैरकानुनी रुपमा अध्यक्ष बनेर हाम्रो रकम हिनामिना गरेका रहेछन्, यसमा नियमनकारी निकायको पनि उत्तिकै दोष छ।’