पहाड र तराईमा यातायात भाडादर घट्दा उपत्यकामा किन घटेन ?

फाईल तस्बिर

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घट्ने बित्तिकै पहाडी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडादर घटायो ।

तर उपत्यकाको भाडादर भने अझै सम्म घट्ने कुनै छाँटकाट छैेन । प्रदेश सरकारले अहिलेसम्म नयाँ भाडादर कायम गरेको छैन ।

प्रदेश भित्रको भाडादर प्रदेशले नै घटाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यातायात व्यवस्था विभागले कायम गर्न नमिल्ने यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए ।

उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेशले पनि भाडादर तत्काल नै घटाउनुपर्ने हुन्छ । भाडादर स्वचालित मूल्य प्रणालीमा कायम हुने व्यवस्था भएकाले भाडादर घट्नुपर्ने उनले बताए ।

उनले भने, “अहिले भाडादर स्वचालित मूल्य प्रणालीमा आधारित छ । त्यसकारण पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटेपछि स्वतः रूपमा भाडादर घटाउनुपर्छ ।”

यसै बिचमा श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले प्रदेश भित्र सञ्चालन हुने यातायातको नयाँ भाडादर आज (बुधबार) सार्वजनिक गर्ने जनाएको छ । यसअघि गत शुक्रबार नै सार्वजनिक गर्ने प्रतिक्रिया दिएको मन्त्रालयले गृहकार्य नपुगेको भन्दै बुधबार सार्वजनिक गर्ने जनाएको छ ।

मन्त्रालयका उपसचिव शङ्करराज पाठकका अनुसार भाडादरको विषयमा मन्त्रालयमा गृहकार्य चलिरहेको छ । भाडादर वैज्ञानिक आधारमा तय गर्न लागिएकाले केही समय लागेको उनको भनाइ छ ।

“बागमती प्रदेशको भाडादर घटाउनका लागि मन्त्रालयमा गृहकार्य चलिरहेको छ । भाडादरलाई वैज्ञानिक बनाऊँ भन्ने उद्देश्यले सार्वजनिक गर्न समय मात्र लागेको हो, उनले भने ।”

अहिले भाडादरको खाका तयार भइसकेर कानुन मन्त्रालयमा पठाइएको र मन्त्रालयबाट राजपत्रमा प्रकाशित भएलगत्तै लागू हुने उनको भनाइ छ ।

यातायात व्यवस्था विभागले घटाएको भाडादरलाई आधार बनाएर नयाँ भाडादर कायम गर्न लागिएको उनको भनाइ छ ।

गत साता डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको हो ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपियाँबाट १५५ रुपियाँमा झरेको छ । मूल्य घटेसँगै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटेको छ ।