नक्कली शरणार्थी प्रकरणका कसैलाई काखा कसैलाई पाखा हुनुहुँदैन : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई काखा कसैलाई पाखा हुनुनहुने बताएका छन् । उनले कारबाही प्रक्रिया विधिको शासन अनुसार अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा नीति कार्यक्रममाथिको छलफलमा उनले नीति तथा कार्यक्रममा पनि भ्रष्टचारसम्बन्धी शून्य सहनशीलता लेखिएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिए ।

“भ्रष्टाचार केसमा पनि विधिको शासन अनुसार हुनुप‍र्‍यो । कसैलाई काखा कसैलाई पाखा हुनुहुँदैन,” उनले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा त्यसरी नै विधिको शासन कार्यान्वन हुनुपर्छ । नीति तथा कार्यक्रमा भ्रष्टचारमा शून्य सहनशीलता उल्लेख छ ।”

उनले संघीयता बलियो बनाउँदै यसका लागि आवश्यक कानुन निर्माणमा जोड दिए । साथै, उनले राजनीतिक स्थायित्वका लागि नीति कार्यक्रमको कार्यान्वयनमा जोड दिए ।

“हाम्रो मूल्यांकन चुनेर पठाएको जनताले गर्ने भएकाले नीति कार्यक्रमका सबै बुँदाहरू आवश्यक छ । जनताको विश्वास जित्न आउँदो बजेटलाई सीमित साधन स्रोतलाई न्यायोचित तवरले जनतआवश्यक्रा अनुसार विनियोजित हुनुपर्छ ।”

उनले थपे, “संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरू पारित गर्न ढिला गर्नुहुँदैन । निजामती ऐन, शिक्षा ऐनजस्ता कुराहरू यहाँ बनाउछु भनेको छ । त्यो कार्यान्वयन हुनुपर्छ ।”