केहिदिन खुल्न नपाउँदै नाका ठप्प, व्यापारी निराश

काठमाडौं । वैशाख १८ गते खुलेको उत्तरतर्फको व्यापारिक नाका तातोपानीबाट निर्यात ठप्प भएको छ । नाकाबाट निर्यात ठप्प हुँदा स्थानीय व्यापारी फेरि निराश भएका छन् ।

गत वैशाख १८ गते आयातसँगै निर्यात पनि खुलेको घोषणा गर्दै उक्त नाका खुला गरिएको थियो । तर खुलेको पहिलो दिन तीन कन्टेनर सामान चीन पठाए त्यसयता कुनै सामान निर्यात नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

चीनमा नेपाली सामानको माग नभएका कारण निर्यात ठप्प भएको भन्सार प्रमुख दयानन्द केसीले बताए ।

दुईतर्फी रुपमा नाका खुला गरिएपनि यताको सामान उता नगएपछि व्यापारीले टाउकोमा हात राखेका हुन् । चीनबाट नेपालतर्फ दैनिक ८ देखि १० कन्टेनर सामान आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

वैशाख १८ अघि पनि नाकाबाट चिनियाँ सामान नेपाल आउन रोकिएको थिएन । चीनले कोभिड माहामारी र कहिले सुरक्षाको कारण जनाउँदै नेपाली मालसामानको आयातमा रोक लगाएको थियो । नेपाली सामान चीनतर्फ पठाउन तयारी अवस्थामा राखिए पनि अप्रत्यक्ष रुपमा निर्यातमा समस्या देखिएपछि ट्रान्सपोर्ट व्यवसायीहरु पनि निराश भएका छन् । दुईतर्फी नाका खुलेसँगै हौसिएका व्यवसायीहरुले वैशाख १८ पछि तीन कन्टेनर सामान चीन पैठारी गरेका थिए ।

पछिल्लो तीन सातामा सामान ढुवानी गर्न नपाएको नमस्ते ग्लोबल लजिष्टिकका अध्यक्ष दानुर्पु शेर्पा बताउँछन् । निर्यात बढाउन आफूहरु ढुवानी भाडादरसमेत घटाउने सोचमा रहेको उनको भनाइ छ ।

निर्यातसँगै मानिसको आवतजावत पनि बढ्ने आशमा रहेका स्थानीय पनि पछिल्लो अवस्थाबाट निराश बनेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा बताउँछन् । उनले भने, ‘नाका सुचारु भएपछि तातोपानी क्षेत्रमा चहलपहल बढ्ने आशा निराशामा परिणत भएको छ,’ उनले भने ।

२०७१ साउन १६ गते खसेको जुरे पहिरोदेखि अवरुद्ध हुँदै आएको तातोपानी नाका र अरनिको राजमार्ग वैशाख १८ गतेदेखि पुरानै लयमा फर्कने आशामा रहेका स्थानीय फेरि चीनतर्फको निर्यात ठप्प हुँदा प्रतिक्रियाविहीन बनेका हुन् ।

ताजा अपडेट