भुटानी शरणार्थी प्रकरण : अहिले दुलाल र राईको बयान जारी

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान अहिले जारी छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दुई जनाको बयान भइरहेको छ ।

अदालतका प्रवक्ता दीपक दहालले दुलाल र राईको बयान आजै सकाउने तयारी भएको बताएका छन् । ‘ शुक्रबार कार्यालयको समय ३ बजेसम्म भएपनि, दुईजनाको बयान सकाउने तयारीका साथ बयान जारी रहेको छ,’ दाहालले भने ।

बुधबार जिल्ला सरकारी वकील कार्यलय काठमाडौंले यस प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ठगी, किर्ते, राष्ट्रियहितविरुद्धको कसुर, एकीकृत कसुर र संगठित अपराधमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

उक्त मुद्दामा प्रतिवादी बनाइएका १६ जना पक्राउ परिसकेका छन् भने १४ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको हो । आजबाट पक्राउ परेका अभियुक्तहरूको न्यायाधीश न्यौपानेको इजलासमा बयान सुरु गरिएको हो ।

आज दुईजनाको बयान सकिएसँगै आइतबारबाट पक्राउ परेका अन्य अभियुक्तको बयान न्यौपानेकै इजलासमा सुचारु हुनेछ ।