संसद अवरुद्ध हुनैपर्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विरुद्ध चौतफी घेराबन्दी भइरहेको आरोप लगाएका छन् । उनले भने ‘हुनैपर्छ संसद अवरुद्ध किनभने यस्तो वकवास ‘।एउटा जड्याहले जाँड खाएको तालमा पनि यस्तो बोलेर हिँँड्दैन ।’

संसदमै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद भएको उनले बताए । ‘रकम दिएपछि सुन कि पित्तल ट्वाक ट्वाक पार्न गएको थिएँ म ?’ उनले भने, ‘यस्ता यस्ता मान्छेहरु संसदमा पुगेका छन् कि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने! ’

स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षणमा एमाले अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण एमालेले नै चलाएको जसरी प्रचार गरिएको भन्दै असन्तुष्टि जनाउदै भने ‘नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल रहेछन् । यसमा कोको सामेल छ, अदालतमा केस भएकाले म धेरै भन्न चाहन्नँ,’ एमाले अध्यक्ष ओलीले भने । नक्कली भुटानी शरणार्थी प्रकरणको बाढी एमालेतिर खन्याउन खोजिएको उनको दाबी छ ।

सरकारको नीति तथा कार्यक्रममा कमजोरी देखाउँदा आफूविरुद्ध सत्तारुढ सांसदले गैर जिम्मेवार टिप्पणी गरेको उनले बताए । उनले भने, ‘एक जना माओवादी सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा २ अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहारी चलाउँछु भनेर पित्तलको जलाहरी चलाएर भ्रष्टाचार गर्यो भनेर बोले ।’

संसद जस्तो गरिमामय ठाउँमा आधारहीन, जनतामा भ्रम पार्ने कुरा गरिएको उनले बताए । उनले भने, ‘कि त पुष्टि हुनुपर्‍यो, पुष्टि हुने त सम्भावना छैन, नेकपा एमाले, त्यसमा पनि मैले जसले जीन्दगीभरी भ्रष्टाचार अभियान चलाएर आएको छु, त्यही मान्छेविरुद्ध, यो त इमानका सत्रुहरुले गर्ने काम हो ।’