डेढ अर्ब हिनामिना आरोपपछि मेयर सम्पर्कविहीन

काठमाडौँ । एक अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना गरेर भागेको आरोप लागेको हो ।

बागलुङ र पोखरामा शाखा रहेको सहकारी संस्था बन्द भएपछि सयौं बचतकर्ताले प्रशासनमा उजुरी गरेका थिए । प्रशासनकै आग्रहमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रारम्भिक अनुसन्धानसमेत गरिसकेको छ ।

अनुसन्धानका क्रममा सयौं बचतकर्ताबाट १ अर्ब ५४ करोड रुपैयाँ अपचलन गरेको देखिएको कार्यालयका सूचना अधिकारी चोलाकान्त वाग्लेले बताए। ‘डेढ अर्ब बढी रकम हिनामिना भएको प्रारम्भिक अनुमान आएपछि हामीले सञ्चालकको नाउँमा रहेको सम्पत्ति रोक्का गराएका छौं,’ वाग्लेले भने । संगठित ठगी भएको भन्दै कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत छानबिन गर्ने गरी माथिल्लो तहमा जानकारी भइसकेको उनले बताए ।

सञ्चालक सदस्य र नेपालीका परिवारका सदस्यसमेत फरार भएपछि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयको आग्रहमा अध्यागमन विभागले उनीहरूको भ्रमण आदेशसमेत रद्द गराएको थियो । संस्थापक अध्यक्षका रूपमा नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रूपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द भएको हो ।