हुलाक कार्यालयका प्रमुख पक्राउ, दुई करोड हिनामिना गरेको आरोप

काठमाडौं । जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा  प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई शनिबार  नियन्त्रणमा लिएको हो ।  पर्साको बहादुरमाई गाँउपालिका २, घर भएका कुर्मी जिल्ला हुलाक कार्यालय कलैयाका प्रमुख हुन् ।

बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जानमारी दिएका छन् ।  कुर्मीले जिल्ला हुलका बचत बैंक कलैयामा सेवाग्राहीले जम्मा गरेको रकम हिनामिना गरेको विषयमा सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका थिए । पक्राउ परेका कुर्मीलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताएका छन् ।