मेसीले तोडे रोनाल्डोको रेकर्ड

काठमाडौं । लिओनल मेसी युरोपका शीर्ष ५ लिगमा सर्वाधिक गोलकर्ता बनेका छन्।

शनिबार राति भएको फ्रान्स लिग १ अन्तर्गत स्टार्सबगविरूद्धको खेलमा गोल गर्दै मेसीले सर्वाधिक गोलकर्ताको रेकर्ड आफ्नो नाममा पारेका हुन्।

योसँगै उनले युरोपका शीर्ष ५ लिगमा ४९६ औं गोल हानेका छन्। लामो समय स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेसी अहिले फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका छन्। शनिबारको खेलमा किलियन एम्बाप्पेको पासमा मेसीले गोल गरेसँगै पिएजीले लिग विजेता बनेको छ।

यसअघि शीर्ष ५ लिगमा सर्वाधिक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए। उनले इंग्ल्यान्डको म्यान्चेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड र इटालीको युभेन्ट्सबाट खेल्दा सर्वाधिक ४९५ गोल गरेका थिए।

उनी अहिले साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

युरोपका शीर्ष ५ लिगमा प्रिमियर लिग, लालिगा, सिरी ए, बुन्डेस लिगा र लिग १ पर्छन्।