जेलमुक्त भएका चौधरीले के भने ?

काठमाडौं ।गणतन्त्र दिवसको अवसरमा कैद सजाय मिनाह भएपछि आज विहान जेलमुक्त भएका चौधरीले आफू निर्दोष रहेको र उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

डिल्लीबजार कारागारबाट छुटेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले कसैले कसैलाई आरोप लगाएर नहुने बताउँदै असली दोषीलाई राज्यले कारबाही गर्नुपर्ने बताएका हुन्।

चौधरीले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरेका छन् ।

टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताउँदै त्यसका लागि आफूले पनि सघाउने उनले बताए ।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु राज्यको दोष भएको भन्दै सार्वजनिक हुनुपर्नेमा समेत जोड दिए । उनले भने, ‘’लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ। प्रतिवेदन सार्वजनिक नहुनु राज्यको दोष हो। सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ। अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ।’

चौधरीले ‘मिसन २०८४’ अन्तरगत मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका हुन् । उनले भने, ‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ ।’ उनले अब बदलावको भावना नभई समाज मिलाउने सपनाका साथ अघि बढ्ने बताएका छन् ।

ताजा अपडेट