काठमाडौं । आज टुँडिखेलमा गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल दुवै उपस्थित भएनन् ।
गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई आमन्त्रण गर्ने गरिन्छ । जसमा काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको छ । तर, यसपालि मेयर साह र उपमेयर सुनिता डंगोल दुवै कार्यक्रममा अनुपस्थित रहे । ललितपुरका मेयर चिरीबाबु महर्जन भने समारोहमा सहभागी थिए ।
गणतन्त्र दिवस समारोहमा काठमाडौं महानगरको विशेष भूमिका रहने गरेको थियो । समारोहका लागि स्टेज निर्माण र व्यवस्थापनको जिम्मा महानगरले पाउँथ्यो । यसपटक भने यो भूमिकाबाट पनि काठमाडौं महानगर पन्छिएको छ ।
समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो । सबै उपप्रधानमन्त्री, मन्त्री रहने समितिमा काठमाडौंका मेयर पनि सदस्य रहन्छन् ।
मेयर बालेन निकट स्रोतले गणतन्त्र दिवस संघीय सरकारले मनाउने कार्यक्रम भएकाले महानगरले हात झिकेको बतायो ।
‘पहिले के परम्परा थियो भन्ने भन्दा पनि आफैंले परम्परा बसाउने हो । गणतन्त्र दिवसको समारोह संघीय सरकारले आयोजना गर्ने भएकाले स्टेज व्यवस्था पनि सरकार आफैंले गरोस् भनेर छोडिदिएका हौं,’ स्रोतले भन्यो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले गणतन्त्र दिवसको समारोहमा मेयर-उपमेयरको अनुपस्थितिबारे जानकारी नरहेको बताए । अघिल्ला वर्षहरूमा स्टेज व्यवस्थापनका लागि सरकारले महानगरलाई जिम्मेवारी दिने गरेकोमा यसपाली त्यो पनि नभएको उनको भनाइ छ ।
‘हामीलाई औपचारिकरूपमा यसबारे केही पनि भनिएको छैन, तर महानगर संलग्न नभएको चाहीँ हो,’ उनले भने ।
मेयर बालेनका निकट सहयोगी कुमार बेनले भने बालेन काठमाडौं बाहिर भएको दावी गरे ।
‘उहाँ दुई-तीन दिनदेखि विशेष कामले भ्याली बाहिर हुनुहुन्छ, त्यसैले नजानुभएको हो,’ उनले भने, ‘बहिष्कार भएको होइन ।’
तर, बालेन काठमाडौंमै रहेको बुझिएको छ । हिजो रातिसम्म उनी साथीभाइसँग रमाइलो गरिरहेका थिए । उनी आजको कार्यक्रममा नजाने नै मनस्थितिमा थिए ।
उपमेयर सुनिता डंगोलको अनुपस्थितिको कारण खुलेको छैन । उनी निकट स्रोतले बजेट निर्माणको चटारोले गर्दा जान नभ्याएको दाबी गर्यो । यस विषयमा मेयर बालेनसँग भने सल्लाह नभएको स्रोतको भनाइ छ ।
मूल आयोजक समितिका सदस्यसचिव समेत रहेका गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले मेयर र उपमेयर अनुपस्थित रहनुको कारण बारे अनभज्ञिता दर्शाए । उनले भने, ‘निम्ता त गरिएको हो । किन आउनुभएन भन्ने जानकारी छैन ।’
Add Comment