भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्छ : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने बताएका छन् ।

ठूल्ठूला भ्रष्टाचारीहरूलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किराँतीले उनीहरूलाई पक्राउ गर्न पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकलाई भने खोज्नुपर्ने बताए । मन्त्री किराँतीले शहीदहरूमाथि अपमान हुन नदिन पनि भ्रष्टाचारविरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा मन्त्री किराँतीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउन ललितकलाको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे ।