काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । उक्त अवसरमा पत्रकारितामार्फत ललितकलाको क्षेत्रमा गरिएको योगदानको मूल्याङ्कन गर्दै राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता ढुङ्गानालाई रु २५ हजार राशिको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारमध्येबाट उनीलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । यस्तै कलालेखन पुरस्कार भने नरेन्द्रप्रसाद पौडेलले प्राप्त गरेका छन् ।
यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान सङ्गीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतका रूपमा अनिल चित्रकारलाई सम्मान गरिएको थियो । ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा सुरु यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्ने कलाकार प्रा राधेश्याम मुल्मीलाई ताम्रपत्रबाट सम्मान गरिएको थियो ।
यस वर्ष ललितकलातर्फ अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिएको छ । सासामयिक चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई तथा ललितकला विशेष पुरस्कार रीता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरिएको छ ।
परम्परागत चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार राजप्रकाशमान तुलाधर र यसै विधामा ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरिएको छ । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरिएको छ भने यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ ।
हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरिएको छ । सोही विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरिएको छ । लोककला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरिएको छ भने सोही विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योतिकुमारी सापकोटा कर्णलाई प्रदान गरिएको छ ।
परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो भने यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरिएको थियो । समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरिएको छ भने यसै विधामा ललितकला विशेष पुरस्कार टीकाराम पौडेल (शशि किरण) र मीना कायस्थलाई प्रदान गरिएको छ । रासस
Add Comment