बेपत्ता व्यक्ति ३५ वर्षपछि भेटिए, परिवारमा छायो खुसीयाली

काठमाडौं । ३५ वर्षअघि बेपत्ता भएका एक व्यक्ति भेटिएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीबाट ३५ वर्षअघि बेपत्ता भएका एक व्यक्ति भेटिएका हुन् ।

भुरुङ्ग–तातोपानीका ७० वर्षीय यामबहादुर सुनार भारतको लद्दागमा भेटिएका छन् । वडा सदस्य समेत रहेका सुनारका भतिज बिरबहादुर पौडेल (विक) ले ३५ वर्षदेखि हराएका माइला बुवा भेटिएको जानकारी दिए ।

‘कामको खोजीमा वि.स.२०४५ मा भारतमा जानु भएका उहाँ घर फर्कनुभएको थिएन,’उनले भने, ‘लद्दागको एउटा वृद्धाश्रममा पुगेका नेपालीले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियो र तस्बिरको आधारमा माइला बुवालाई पहिचान गरेर भाइहरु लिन गएका छन् ।’

यामबहादुरका छोरा अमरध्वज र बिरेन्द्र मंगलबार लद्दाग गएका हुन् । रोजगारीका लागि भारतको पश्चिम बंगाल गएका यामबहादुरले त्यहाँ सडक आयोजनामा काम गरेको परिवारलाई बताएका छन् ।

मजदुरको नाइकेको रुपमा काम गरेका यामबहादुर ठेकेदार भागेपछि साथमा पैसा नभएपछि घर फर्कन नसकेर त्यही ज्याला मजदुरी गरेर गुजारा चलाएका थिए ।

शारीरिकरुपमा अशक्त भएपछि उनी लद्दागको वृद्धाश्रममा गएर बसेका हुन् । वर्षौंसम्म घर नफर्किएपछि यामबहादुरका परिवारले आशा मारिसकेका थिए । हराएको ३५ वर्षपछि यामबहादुर भेटिदा परिवारमा खुसीयाली छाएको छ ।