ठूलाठूला भ्रष्टाचारका फाइलहरू खोलिनेछन् : प्रधानमन्त्री प्रचण्ड

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अब भ्रष्टाचारका सबै फाइलहरू खोलिने बताएका छन्।

मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताए।

उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजीनीति गर्ने पनि प्रतिवद्धता पनि व्यक्त गरे।

उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन्। क्रमशः खुल्छन्। खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजीनीति गरिन्छ। ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरू छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ। अब केही हुन्छ र हुनसक्छ भनेर।’