दबाब आएपछि बाध्य भएर सांसद विकास कोष बिउँताइयो : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर सांसद विकास कोष बिउँताइएको बताएका छन् ।

मङ्गलवार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रीय संसदीय दलको बैठकमा सम्बोधन गर्दैप्रधानमन्त्री प्रचण्डले सांसद विकास कोषका लागि बजेटमै व्यवस्था गरेर रकम विनियोजन गर्नु आफ्नो योजना नभई बाध्यता भएको बताएका हुन् ।

सत्ता साझेदार दलसहित सबैतिरबाट कोष बिउँताउनुपर्छ भनेर थेग्नै नसकिने गरी दबाब आएकाले यो व्यवस्था बजेटमा समेटिएको प्रचण्डको भनाइ छ ।

उनले हरेक निर्वाचन क्षेत्रमा सांसदले परिचालन गर्न पाउने कोषको बजेटलाई कार्यविधि बनाएर व्यवस्थित गरिने पनि उल्लेख गरे । प्रचण्डले यो सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उभिने उल्लेख गर्दै बरु सरकार ढले पनि यस पटक कुनै हालतमा भ्रष्टाचारका फाइल खोल्ने दाबी गरे ।