पप्पु कन्स्ट्रक्सन सहित २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय कुनै पनि सार्वजनिक निकायको खरीदमा भाग लिन नपाउने गरी २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरीद अनुगमन कार्यालय ताहाचलले २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम २८ निर्माण व्यवसायीरआपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको हो।

सूचना अनुसार कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एन्ड न्यौपाने निर्माण सेवा नयाँ वानेश्वर काठमाडौं, वाईपी कन्स्ट्रक्सन पुल्चोक ललितपुर, सप्तकोशी जलाधार कम्पनी प्रालि काठमाडौं, ओम साई एन्ड कम्पनी प्रालि काठमाडौं, आकृति एड्भर्टाइजिङ पोखरिया विराटनगर, थाक ठिनी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन भरतपुर– ११ चितवन, एसियन हाइटेक कन्स्ट्रक्सन हात्तीगौंडा– ४ मोरङ कालोसूचीमा परेका छन्।

यसैगरी, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन फोटा– २ बारा, फैसल एन्ड अफजल कन्स्ट्रक्सन गौर रौतहट, गौतम ऋषि कन्स्ट्रक्सन कटरिया– ५ रौतहट, गिताञ्जली निर्माण सेवा जनकपुर– १२ धनुषा, सिंह कन्स्ट्रक्सन जनकपुर– १२ धनुषा, खुशी निर्माण सेवा जनकपुर– १२ धनुषा, कमोद कन्स्ट्रक्सन रौतहट, रुबी कन्स्ट्रक्सन मलङ्गवा– १ सर्लाही, एचडी इन्टरप्राइजेज विराटनगर– ३ मोरङ, हिरालाल कन्स्ट्रक्सन वीरगञ्ज– १४ पर्सा, जय माँ वैष्णेदेवी कन्स्ट्रक्सन नवलपरासी, शिरिस कन्ट्रक्सन मध्यपुर ठिमी– ६ भक्तपुर, सुभप्रभात–शुभ अविप जेभी कोहलपुर, सर्जिकेम डिस्ट्रिब्युर्टस धरान, टोनिका कन्स्ट्रक्सन विराटनगर, त्रिजोन कन्स्ट्रक्सन एन्ड सप्लायर्स काठमाडौं तथा युमन निर्माण सेवा बर्दघाट नवलपरासी पनि कालोसूचीमा परेका छन्।

सार्वजनिक खरीद अनुगमन कार्यालयले यीमध्ये अधिकांश निर्माण व्यवसायीरआपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रालि चितवनलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिशमा तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रालिलाई दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। पप्पु र कोशी एन्ड न्यौपानेलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिश गरेका थिए।

यसैगरी, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिशमा सुरेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्राली ललितपुरलाई एक वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएको जनाइएको छ।

कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरीद कारबाहीमा भाग लिन पाउने छैनन्।