कोशी प्रदेश सरकारबाट बाहिरीयो जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकारबाट बाहिरीने निर्णय गरेको छ ।

जसपा प्रदेश समितिको बैठकले कोशी सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार इटहरीमा बसेको बैठकले जसपाका तर्फबाट सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउनेसमेत निर्णय गरेको हो । एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकारमा गत पुस २५ गते जसपा सहभागी भएको थियो ।

जसपाले सरकारबाट बाहिरिने गरेको निर्णयबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएको छ । जसपा स्रोतले भन्यो, ‘सरकार छोड्ने निर्णय भइसक्यो । पत्रकार सम्मेलन गर्ने कुरो छ अब ।‘

जसपाले सरकार छाड्ने निर्णयसँगै हिक्मत कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरु गरेको छ ।