अत्याधिक गर्मीका कारण विद्यालय बन्द

काठमाडौं । केही दिनयता अत्याधिक गर्मी बढेपछि झापाको दमकस्थित सामुदायिक तथा निजी विद्यालयहरू २ दिन सार्वजनिक बिदा दिइएको छ ।

दमक नगरपालिकाले विद्यालयहरूलाई परिपत्र गर्दै बिहीबार र शुक्रवार सार्वजनिक बिदा दिन निर्देशन गरेको हो ।

शैक्षिक सत्र २०८० को बर्से बिदाबाट काटिने गरी बिदा दिइएको दमक नगरपालिका शिक्षा अधिकृत प्रवीण खड्काले बताए । गर्मीका कारण बिद्यार्थीहरुलाई समस्या आउन सक्ने भएकाले बिदा दिइएको हो, खड्काले भने ।

गर्मी बढेसँगै विद्यालयहरूले विद्यार्थीलाई लाइन लगाउने काम भने रोकेका थिए ।

यसै गरी झापाको कचनकवल गाउँपालिकाले बिहीबार देखि २२ गतेसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिएको छ । कचनकवल गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमात्र बन्दको सूचना निकालेको छ ।