महात्मा गान्धीको समाधिस्थल पुगे प्रधानमन्त्री प्रचण्ड

फाईल तस्बिर

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेका छन्। त्यहाँ पुगेर उनले पुष्पहार अर्पण गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ।

लगत्तै सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले बिहीबार नै दिवा भोजको आयोजना गरेका छन्।

प्रधानमन्त्रीले भोलि ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४:३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् र साँझ ६:१५ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ। त्यहाँ मध्य प्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमण समेत गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड चौथो दिन अपराह्न ४:२० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ।