इन्दोर पुगेका प्रचण्डलाई मध्यप्रदेशका मुख्यमन्त्रीले गरे स्वागत, महाकालेश्वर मन्दिरमा पूजा गर्ने

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन्।

इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरेका छन्।

विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरमा पुगेर पूजा गर्ने कार्यक्रम छ। प्रचण्डले त्यहाँ १०८ केजी रुद्राक्ष चढाउने बताइएको छ। यस्तै, उनले मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ। मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा बस्नेछन्।

भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन् आजै प्रधानमन्त्री दाहालको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्दैछन्।

शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।

बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो। प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ।