नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको छ ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी थन्क्याएकी थिइन् । हालै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । राष्ट्रपतिबाट अघिल्लो संसदबाट पारित भएको विधेयक अहिले प्रमाणीकरण गर्नु असंवैधानिक रहेको दाबी गरिएको छ ।