सेयर बजारमा छायो हरीयाली

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा हरीयाली छाएको छ।

सेयरमा हाल लाग्दै आएको पुँजीगत लाभकर बाहेक आयकरसमेत लाग्न सक्ने आर्थिक विद्येयकले गरेको व्यवस्थाको कारण लगानीकर्ताहरू आत्तिएका थिए।

यही कारण केही दिनदेखि बजार उच्च दरमा घट्न थालेको थियो। गत बिहीबार भने नेप्से १६ अंकसम्म बढेको थियो। आइतबार लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाउने लगायतका आन्दोलनका कार्यक्रम गरेपछि अर्थमन्त्रीले व्यक्तिगत लगानीकर्तालाई पुँजीगत लाभकर नै अन्तिम हुने आश्वासन दिएका थिए।

यससँगै सेयर बजार परिसूचक एकै दिन ५३।०३ अंकले बढेर १९१९।३७ विन्दुमा पुगेको छ। बिहानी सत्रको कारोबार अन्दोलनका कारण अवरोध भएपछि कारोबार रकममा भने सुधार हुन सकेन। कारोबार रकम सामान्य बढेको छ। गत बिहीबार एक अर्ब ६५ करोड ४६ लाख रूपैयाँको कारोबार भएकोमा आइतबार एब अर्ब ६५ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ।

यसदिन शिवम सिमेन्ट्सको सेयर कारोबार सबैभन्दा धेरै भएको छ। कम्पनीको १५ करोड ८१ लाख रूपैयाँको सेयर किनबेच भएको हो। त्यस्तै, सोल्टी होटेल, चिलिमे हाइड्रोपावरको कारोबार पनि उच्च भएको छ। यी कम्पनीको कारोबार क्रमशः ८ करोड १३ लाख र ६ करोड ५४ लाख रूपैयाँ बराबरको भएको छ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सर्क्रिट ब्रेक लागेको छ। कम्पनीको ४ सय ७ रूपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यस्तै १६ वटा कम्पनीको मात्र आइतबार मूल्य घटेर कारोबार भएको छ। यिनमा एक बैंक बाहेक सबै ऋणपत्र वा सामुहिक लगानी कोषका योजना रहेका छन्। मूल्य घट्ने बैंकमा एनआइसी एशिया छ। बैंकको ९० पैसाले मूल्य घटेर ७ सय १२ रूपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको हो।