नेपालमा लगानी बढाउन इटाली सरकारसँग आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेका छन् । आज गरेको शिष्टाचार भेटमा मन्त्री रिजालले इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकालाई सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतमा लगानी बढाउन र विविधिकरण गर्न आग्रह गरेका हुन् ।

इटालीबाट भित्रिएको प्रत्यक्ष विदेशी लगानीको प्रशंसा गर्दै उनले नेपालमा लगानी भित्र्याउन राजदूतले अधिकतम प्रयास गर्ने विश्वास व्यक्त गरे । भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानीलगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र इटालीले विभिन्न विषयमा साझा धारणा राखेको र बहुपक्षीय फोरममा मिलेर काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्तो सम्बन्ध कायम रहने विश्वास व्यक्त गरे । नेपाल अल्पविकसित राष्ट्रको स्थितिबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै मन्त्री रिजालले आगामी दिनमा इटाली सरकारले आफ्नो सहयोगको दायरा बढाउने विश्वास व्यक्त गरे ।

भेटमा गैरआवासीय राजदूत लुकाले नेपालसँग इटालीको व्यापार बढेको उल्लेख गर्दै इटालीमा उत्पादन भएका नयाँ प्रविधिका मेसिन नेपालमा आपूर्ति गर्न सकिने बताए ।