कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिदैँ

काठमाडौं । माओवादी केन्द्रले कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मंगलबार पार्टीको प्रदेश कमिटीमा छलफल गरेर समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादी केन्द्र प्रदेश १ इन्चार्ज राम कार्कीले केन्द्रीय गठबन्धनले एमाले गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएर सत्ता गठबन्धनको सरकार बनाउने निर्णय गरेकाले सोही अनुसार आज निर्णय गरेर एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछी एमालेका मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । उक्त सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्य माघ ६ गते मन्त्री नियुक्त भएर पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रपति निर्वाचनमा यो गठबन्धन फुटेर कांग्रेस, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि केन्द्रसहित प्रदेशमा नयाँ गठबन्धनको सरकार गठन भए पनि माओवादीले समर्थन फिर्ता लिन ढिलाइ गरेकाले कोशी प्रदेशमा भने एमाले नेतृत्वकै सरकार कायम रहेको छ । मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेशसभा सदस्यको समर्थन थियो ।

जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहने छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन हुँदा अल्पमतमा पर्ने छ ।

अब कांग्रेसका २९, माओवादीको १३, नेकपा ९एकीकृत समाजवादी०को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन् । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।