दलहरुले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरू हुन सकेन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको आजको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।

बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै दलहरुले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नरकेको हो ।

प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने थियो ।

सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ । उनीहरुले यो विषयको छानबिन हुनुपर्ने कुरा गरिरहेका छन् ।त्यसका लागि छानबिन समिति नै बनाउनुपर्ने उनीहरुको अडान छ । अनौपचारिक रुपमै उनीहरुले विरोध गर्ने कुरा गरिसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।

यस पटकको बजेट निर्माणमा पनि पूर्वनायब सुब्बा (नासु) लाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठेको छ । सरकारले भने पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ । पूर्वकर्मचारीलाई अनुभवका आधारमा करारमा राखेर नियमित सहयोग लिने अभ्यास रहेको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।