जहाजको ढोका आकाशमै खुलेपछि…

काठमाडौं ।  काठमाडौंबाट धनगढीतर्फ उडिरहेको श्री एयरलाइन्स  विमानको ढोका अचानक खुलेपछि करिब ३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको  छ ।

प्राविधिक समस्याका कारण एक्कासि आकाशमै ढोका खुलेको जानकारी प्राप्त भएको काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक (एयरपोर्ट अपरेशन) तथा प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् ।

प्रवक्ता सिटौलाका अनुसार काठमाडौंबाट यो जहाज उडेको १० मिनेटमै जहाजको एयर प्रेसर फेलियर भएको थियो । जहाज भित्र तथा बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको प्रवक्ता सिटौलाको भनाइ छ ।

‘यो एकदमै दुर्लभ घटना (रेयर घटना) हो, तर कहिलेकाहिँ हुनपुग्छ, यसलाई हामीले प्राविधिक त्रुटी भनेका छौं, प्रवक्ता सिटौलाका अनुसार प्राविधिकले पूर्ण रुपमा परिक्षण गरेपछि मात्र उक्त विमानले उडान भर्न पाउने छ ।

मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाज आकाशमै ढोका खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं विमानस्थलमै अवतरण गरिएको थियो ।

जहाजमा करिब ८० जना यात्रु रहेको र ती यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताएका छन् ।