राज्यले टीकापुर घटना थारुले घटाएको भन्दै विभेदपूर्ण रुपमा मलाई फसाउने काम गर्‍यो : रेशम चौधरी

फाईल तस्बिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले टीकापुर घटनालाई थारुले घटाएको भन्दै विभेदपूर्ण रुपमा आफुलाई फसाउने काम गरेको बताएका छन् ।

पश्चिम नवलपरासीको परासीमा आयोजित  कार्यक्रममा चौधरीले अधिकारप्राप्तिको लडाइँमा जेलभित्र हुँदा र अब खुला राजनीतिमा पनि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

चौधरीले वर्तमान संविधानले भूमिपुत्र थारु र आदीवासी जनजातिको अधिकार सुनिश्चित नगरेको भन्दै अब संघर्षबाट अधिकार प्राप्त गर्नुपर्ने बताए ।

‘राज्यले टीकापुर घटनालाई थारुले घटाएको भन्दै विभेदपूर्ण रुपमा मलाई फसाउने काम गर्‍यो । म कहिल्यै पनि जातीय विभेदको पक्षमा छैन,’ उनले भने, ‘अबको मेरो बोनसको यो जिन्दगी थारु, आदिवासी र पहिचानवादीको पक्षमा समर्पण गर्नेछु ।’

सयौं राष्ट्रिय गीत लेख्ने, गाउने गरेको एक पत्रकार, कलाकारलाई राज्यले विभेद गरेर जेलमा बस्न बाध्य पारेको भन्दै जेलबाटै जन्मिएको नागरिक उन्मुक्ति पार्टीले यो देशको पहिचानवादी र पीछडिएका जनताको पक्षमा राजनीति गर्ने उनले बताएका थिए ।

यस्तै २०८४ मा हुने निर्वाचमा मुलुकभर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरू विजयी भएर सिंहदरबार हाँक्ने पनि उनको जिकिर थियो । मन्तव्यको क्रममा नेता चौधरीले आफ्नो जेलभित्रका दुस्खद अनुभव पनि सुनाएका थिए । साथै उनले अन्य दलका कार्यकर्ताहरूलाई लक्षित गर्दै अब पुराना पार्टी छोडेर आफ्नो नयाँ अभियानमा जोडिन आग्रह गरे ।

अघिल्लो निर्वाचनमा नेता चौधरी जेलमा रहँदा नै कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । गत मंसिरमा भएको निर्वाचनमा पनि उनी संरक्षक रहेको पार्टी नागरिक उन्मुक्ति पार्टीबाट तीन जना सांसद निर्वाचित छन् । यही वैशाख १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको सिफारिसमा चौधरीको जेल सजाय मिनाह गरिएको हो ।