नेपालले भारतबाट किनिरहेको छ बिजुली ?

काठमाडौ । गर्मी बढेसँगै विद्युतको माग ह्वात्तै बढेको छ । जसका कारण वर्षा नहुँदा अहिले नेपालले अपुग बिजुली भारतबाट किनिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले अहिले विद्युतको माग हालसम्मकै उच्च भएको बताएका छन् । अहिले बिजुलीको माग २ हजार मेगावाटको हाराहारीमा रहेको उनले बताए ।

‘अघिल्लो वर्ष १७ सय मेगावाटसम्म माग भएको थियो । यसपटक २ हजारको हाराहारीमा पुगेको छ’, उनले भने ।

अहिले भएको मागमध्ये नेपालमै उत्पादन भएको साढे ११ सय मेगावाट र अरु भारतबाट आयात गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय देशभर गर्मी बढिरहेको छ । विशेषगरी तराई क्षेत्रमा अधिकतम गर्मी छ । गर्मीमा एसी, पंखा, फ्रिजलगायतका विद्युतीय उपकरणको प्रयोग अत्यधिक हुन्छ । सुख्खा सिजन तथा गर्मी बढेपछि शहर र तराई क्षेत्रमा बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ।