आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै नेपाली टिम

काठमाडौँ  ।  क्रिकेट विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दैछ । खेल दिउँसो १:१५ बजे बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपालले दक्षिण अफ्रिकामा दुई खेल खेलेर त्यहीबाट जिम्बावे पुग्नेछ। दक्षिण अफ्रिकामा नेपालको दोस्रो अभ्यास खेल नेदरल्याण्ड्स विरुद्ध हुनेछ। जिम्बावेमा विश्वकप छनोट अघि यूएई र ओमनसँग खेल्नेछ।

आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल र जिम्बावेबिच प्रतिस्पर्धा हुने भएको छ। असार ३ गते (जुन १८)मा हरारे स्पोर्ट्स क्लबमा नेपाल र आयोजक राष्ट्र जिम्बावे भिड्नेछन्।

त्यसपछि असार ५ गते (जुन २०) मा नेपाल र अमेरिका भिड्नेछन्। असार ७ गते (जुन २२) मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा असार ९ गते शनिवार (जुन २४) मा नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज जारी गरेको तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। समूह ‘ए’ मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्।

क्वालिफायर्समा दुबै समूहबाट तीनरतीन टोली सुपर सिक्समा पुग्नेछ्न्। त्यहाँबाट शीर्ष दुईमा रहने दुई टोलीले भारतमा हुने विश्वकप खेल्नेछ।

क्रिकेट विश्वकप लिग २ मा सानदार फिनिसिङ गर्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालले पछिल्लो समय प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा समेत स्थान बनाएको थियो।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन आउद र किशोर महतो रहेका छन्।