भुटानी शरणार्थी प्रकरण : आजदेखि रायमाझीको तर्फबाट वहस हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पूर्व उपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट वहस हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक वहसमा आज सांसद रायमाझीको तर्फबाट बहस हुन लागेको हो ।

आइतबारदेखि भएको थुनछेक वहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् ।

उनीहरूको वहस सकिएसँगै बुधवारदेखि अभियुक्तहरूको वहस प्रारम्भ भएको हो । अभियुक्तहरूको तर्फबाट आज थुनछेक
वहसको तेस्रो दिन हो ।

हालसम्म ६ अभियुक्तको तर्फबाट वहस सकिएको छ । थुनछेक वहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनु पर्नेछ ।