माननीय अरे रे ! स्याल त्यो अनुहार

ती अनुहार देख्दैमा पुर्पुरो तातेर आउँछ । आँखा तरेर हेर्न मन लाग्छ । मसान घाटमा मान्छे पोल्न तयारी गर्न दाउरा काट्ने बञ्चरोले खप्परमा हान्न मना लाग्छ । दाह्रा किटेर, मुठ्ठी बटारेर टाउकै टाउकामा बजार्न मन लाग्छ ।

तर, त्यसो गर्नु हुँदैन रे ! उसले जति गरे पनि सहनु पर्ने अरे स्याललाई । खै माननीय भन्नु पर्ने अरे । भोट हाल्ने हामी, माननीय ऊ ? उसले हामीलाई बनाईदिएको हो कि हामीले उसलाई बनाईदिएको हो हँ ? हामीले त हाम्रै लागि केही राम्रै काम गर्ला, देशको नाउँ उँचो बनाउँला भनेर पो चुनाउमा भोट हालेको त । हामीले भोट हालेर पठाएपनि हामी माननीय हो कि उ माननीय ?

सत्य बोल्न खोज्यो असत्यले राज गर्छ । भाको कुरा गर्न नपाईने रे शत्रु त कति हो कति । शक्तिको वरिपरि घुमेर गणेश बन्न छाडेर आफ्नो कर्म गर्ने कुमार बन्न खोजेको हो नि गाँठे । काम गर्ने कालु मकै खाने भालु भन्या यही होला, यो कलियुगमा ।

असनमा जन्मिएकी हजुर आमाले निरन्तर सत्य बोल्नु भो । त्यहाँ असत्यको जीत भयो अनि हजुरआमा विरक्तिएर बसाई सर्न वाध्य हुनु भो । सत्य बोल्दा बोल्दै तीन बीस काट्न नपाउँदै आफैले भनेको समयमा देह त्याग गर्नु भो ।

झुठ बोल्नु हुँदैन भनेर क ख पढ्दादेखि नै बाले सिकाउनु भो । सत्यवादी भएर बा चार बीसको उमेरमा हिँडिरहनु भएको छ । घर पहिलो पाठशाला भन्दै सिकाउने गुरुहरु अहिले कता छन्् । पाठशालामा पढाएको कुरालाई व्यवहारमा उतार्न कि नउतार्ने त ? चालिस वर्ष सरकारी अड्डामा जागिर खाँदा बा सँधै गोर्खाली राजा पृथ्वीनारायणको उक्तिको विचारमा हिड्नु भो । ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने उक्तिलाई सँधै विहान गायत्री मन्त्र जपे जस्तै गर्नु भो । अनि आफ्ना भावी सन्ततीलाई पनि त्यही कण्ठस्थ गराउनु भो ।

भिमदेव प्राविका हेड मास्टर भवनाथले विद्यालयमा किन सत्य बोल्न सिकाएका ? पढ्नु अनि असल मान्छे बन्नु भनेर किन रटाएका । सत्य बोल्दा दोष माथि दोष थोपरिने शिक्षा के का लागि दिएका । यस्ता सत्यवादी मास्टरलाई के गर्नु खै ?

कम्तिमा ती मास्टरले पढ्नु हुन्न । झुठ बोल्नु पर्छ । सत्य त ज्यान जाला भन्नु हुन्न बोल्नु पनि हुन्न भनेर सिकाउनु पर्दैन ? पढ्न नसिकाएको भए, सत्य बोल्न नसिकाएको भए अहिले तीनका अनुहार देख्ने वित्तिकै ‘प्रेसर हाई’ त हुँदैनथ्यो । मलेसिया दुवई वा कतार गएर तीनका किड्नी फेर्न, रगत फेर्न, चिल्ला गाडी चढ्न, मान्छे बेच्न, धन्दा चलाउन अनि तिनका सात पुस्ताका ढिकुराका पुजारीको स्याहारका लागि रेमिट्यान्स पठाउँथे होला नि ?

सत्य बचनका लागि पहिलो पाठशालादेखि लिएको ज्ञान कलियुगको यो भ्रष्मासुरहरुले बनाएको नीतिमा किन अट्थ्यो र ! यहाँ मान्छेलाई पशु जस्तै गरी बेच्नेहरुको दिन चलिरहेको छ । जनताको प्रतिनिधि बन्छु भनेर जनतालाई धोका दिँदै आमा बेच्नेहरुको लाईन छ । त्यो पातकी लाइनमा सत्य कसरी टिक्ला र ?
आफ्नै छोराछोरीलाई अर्कैको बनाएर बेच्न तत्पर हुन्छ । देशको बुख्याँचा बनिरहेको छ । अझ लाज सरम पचेको छ । छाती फुलाएर हिँडिरहेको छ । स्याल त्यो अनुहारलाई लाईन बसेर दश औलाले नमस्कार गरेर जेलमा स्वागत गरिरहेका छन् , हनुमानहरु ।

हुन त स्वार्थी, देश भँटुवा, जनता बेचुवासँग के आदर्शको कुरा गर्नु । टेलिइँटको आँगनमा तोते बोल्दै सत्य सत्य भन्ने सिकेको, भवनाथ मास्टरले सत्य बोल्नु भनेको अनि भवानी विक्रम राणासम्मले सत्य बाहेक अरु केही गर्नु हुन्न भन्ने सिकाएको बबुरोलाई असत्य गर्न र भन्न त आउँदै आउँदैन ।

ती कुरुप मनोबृद्धि भएका स्यालहरुसँग कुनै सम्वन्ध जोड्नु आवश्यक छैन । देश र जनताको पक्षमा केही नै गर्न नसक्ने हुतिहारलाई माननीय भन्ने पक्षमा छँदै छैन । किन भन्ने माननीय ? माननीय बन्नलाई त सम्मान हुने काम गर्न सक्नु पर्दछ, गरेको हुुनु पर्दछ । पैसाका लागि जनता बेच्नेलाई कसरी माननीय भन्ने । त्यस्तालाई द्रव्यपिचास भन्दा भईगो नि । प्रजातन्त्र ल्याउना साथ शुरु भएको लुट गणऽतन्त्रको १४ वर्षमा बनबास होइन धनवासमा परिणत भईसकेछन् ।

जनता लुट्ने, जनतालाई वेवकुफ बनाउने अनि जनता कै नाममा देश दोहन गरिरहेको कसरी टुलुटुलु कसरी सहेर बस्नु र ? ढिलो चाँडो ‘पाप धुरीबाट कराउँछ’ भन्ने कुरा त चिरञ्जवी वाग्ले, गोविन्दराज जोशीले प्रमाणित गरिदिईसकेका छन् त ।

अव पालो आईहाल्छ नि । दश बर्ष जनयुद्ध लडेर धनयुद्धमा रमाएका कमरेडहरुलाई पनि राम्रैसँग डाम्नु पर्ने परिस्थिति देखिएको छ । साम्यवादको रटान रटाएर घाँटी नै रेट्नेहरुसँग पनि मैले ठूलो अपेक्षा गरेकै छैन । प्रजातन्त्र ल्याउनका लागि लडेकाहरुले त प्रजातन्त्रलाई धोविले लुगा चुटेजस्तो चुटेर बागमतीमा लगेर बगाई दिए भने अरुसँग आशा गर्नु पनि निरक्षक छ ।

तर पनि ‘सत्यको जित सुनिश्चित’ भन्ने कुरालाई भित्रैबाट लिनु पर्दछ । अरुलाई दोष थोपर्ने आफू भने भुत्तो भाङ केही गर्नेसँग त कसरी कुरा मिल्छ र ? कम्तिमा म के हुँ र मैले के गर्नु पर्दछ भन्ने मात्र स्मरण गरिदिने हो भने पनि निकै नै परिवर्तन त हुन्थ्यो ?

व्यवस्था परिवर्तन गरेर जनताको अवस्था परिवर्तन गर्छु भनेर डिङ हाँक्ने तर कमिशन, भ्रष्टाचार, नातावाद कृपावादमा रमाएर देशलाई नै खोक्रा बनाउने स्यालहरुलाई मैले कसरी माननीय भन्नु । जसले सुनको थाल थापेर पित्तल मागिरहेका छन् ।

माग्नेहरु ! अरुले भन्दिनु पर्ने माननीय स्यालहरु ¥याल चुहाउने बेलासम्मपनि पद छाड्न नचाहनेहरुलाई मानीनय स्याल भन्ने भन्दा पनि अरु सम्वोधन नै गर्ने त ? स्यालहरुलाई त बुढो स्याल, लाचार, भँडुवा, तोरी लाहुेर भन्ने नामाकरण गरिदिए सवैको कल्याण हुन्थ कि ?